ads

Breaking News

लघुरैखिक अद्वैतवेदान्त प्रमासार कौमुदी


                   

                         श्री गुरुचरणकमलेभ्यो नम:

             लघु रैखिक अद्वैत वेदान्त प्रमासार कौमुदी       

                        (प्रत्यक्ष खण्ड)।

१.लेखसार(अमुर्त)

प्रकृत ग्रन्थमा पूर्विय दर्शनहरू भित्रको एक महत्वपूर्ण दर्शन "अद्वैतवेदान्तदर्शन"ले "ज्ञान" सम्बन्धमा विकास गरेको सर्वसम्मत धारणाहरूको बारेमा सूक्ष्म पाराले विवेचन गरिएको छ। ज्ञान के हो? ज्ञान कसरी हुन्छ? भन्ने प्रश्नहरूको उत्तरमाथी मन्थनगरी सूत्रात्मक उत्तर निकालिएको छ। अद्वैत वेदान्त परम्परामा ज्ञान प्रसार गर्ने आफ्नै प्रथा एवं विधि छ।देश र कालको प्रभावले गर्दा ज्ञानप्रसारका प्रथा एवं विधिहरूमा शैलीगत भिन्नताहरू देखिएतापनि ज्ञानले एउटै वस्तु "ब्रह्म"लाई कसरी आफू "ब्रह्म हुं"भन्ने बनाउने नै हो।अर्थात आत्मसाक्षात्कार गराउने नै हो।भनिन्छ-अद्वैतवेदान्तज्ञान अति कठिन छ,तर यसको विज्ञान बुझे यो त्यति असजिलो छैन।प्रस्तुत ग्रन्थमा वेदान्त परिभाषाको क्लिष्टता,जटिलताहरूबाट मुक्ति पाउन सम्पूर्ण वेदान्त परिभाषाको आकारलाई फोरि दुई भाग लगाइएको छ,यसमा प्रयुक्त शंका,खण्डन,दृष्टान्त,उदाहरणहरूलाई अर्को भागको लागि परसारिएको छ र यस भागको नाम "लघुरैखिक अद्वैतवेदान्त प्रमासार कौमुदी"राखिएको छ।यसो गर्दा वेदान्तमा नवप्रवेशलिने छात्र छात्रा तथा मुमुक्षुजनहरूलाई ज्ञान र ज्ञान प्रकृया बुझ्न सुगम हुनेछ।

२.शब्दकुञ्जिहरु

अद्वैतवेदान्त,अर्थापत्ति,अध्यास,अनधिगत,अनित्य,अनिर्वचनिय,अनुपपत्ति,अनुपलब्धि,अनुमान,अनुमिती,अन्त:करण,अपरोक्ष,अभाव,अवच्छिन्न,अवाधित,इन्द्रियजन्य,उच्छेद,उपपन्न,उपहित,उपाधि,कामल,गर्व,गौरव,चक्षु,चित्व,चिदाभास,चैतन्य,तडागोदक,तादात्म्य,तुलाविध्या,त्वग,घ्राण,नित्य,निवृत्ति,निर्विकल्प,निषेध,पारमार्थिक,प्रपञ्च,प्रतिविम्व,प्रत्यक्ष,प्रमा,प्रमाणप्रातिभाषिक,प्रमाता,प्रमातृ,प्रमेय,ब्रह्म,ब्रह्मज्ञान,माया,मिथ्या,मुलाविध्या,रस,रसना,रुप,लक्षण,लाघव,विवर्त,विवक्षित,विषय,विषयगत,वृत्ति,व्याप्ति,व्यवहारिक,शब्द,शब्दापत्ति,श्रोत्र,सत्य,सन्निकर्ष,समवाय,सविकल्प,संसर्ग,साक्षी,स्पर्श,त्रिपुटी,ज्ञान,ज्ञानगत।

३.विषय परिचय।

वेद+अन्त=वेदान्त।यसरी वेदान्त भन्नाले वेदको अन्तिम भाग भन्ने बुझिन्छ।वेदान्तभित्र मुलत:ब्रह्म,आत्मा,सत्य,ईश्वर,माया,अबिध्या,जीव,प्रपन्च,भ्रम,प्रमा,प्रमाण आदि विषयवस्तुहरू पर्दछन।वेदान्तज्ञानगर्न उपनिषादी शास्त्रहरूको स्वाध्यन गरिन्छ,गुरुमुखबाट ज्ञानोपदेश श्रवण गरिन्छ तथा साधनचतुष्टयादी साधनाबाट स्वानुभूती(अपरोक्षज्ञान)गरिन्छ।वेदान्तज्ञान(ब्रह्मज्ञान)भएपछि जान्नपर्ने कुरा र काम केही बांकी रहंदैन।यद्यपि वेदान्तको प्रयोजन ब्रह्मज्ञान भएपनी वर्तमान समयसम्म आइपुग्दा विश्वमा ब्रह्मज्ञान गराउन प्रयत्नगर्ने धेरैथरिका सम्प्रदायहरू जन्मिएका  छन,जुन प्रस्थानत्रयी(श्रुतिप्रस्थान,स्मृतिप्रस्थान,न्यायप्रस्थान)हुँदै तृविधप्रस्थान(विवरणप्रस्थानादि),कठिनत्रयी(खण्डन खण्डन खाध्यादी)सम्ममा पसारोलागेका छ्न।हिजोआज अद्वैत वेदान्त सम्प्रदायमा अद्वैतवेदान्त दर्शन अन्तर्गत ब्रह्म र ब्रह्मज्ञानको बोधगराउने शास्त्रको (साधनको) रूपमा"वेदान्त परिभाषा"नामक शास्त्रले मान्यता पाएको छ।यस ग्रन्थमा यसै "वेदान्तपरिभाषा"(धर्मराज अध्वरिन्द्र)नामक ग्रन्थको शेरोफेरोमा रहेर ज्ञान के हो? र ज्ञान कसरी हुन्छ ?भन्ने जिज्ञासाको अनुसन्धान गरिन्छ।

४.सामग्री संकलन तथा अध्ययन विधि।

यो "लघु रैखिक अद्वैत वेदान्त प्रमा सार कौमदी" नामक कृत(लौकिक) ग्रन्थकालागि सामगृ विभिन्न वैदिक ग्रन्थहरू,गुरु तथा आचार्यवर्गका प्रवचनहरू,ईन्टरनेट वेवसाइट तथा युट्युव श्रव्यदृश्य हरु र पत्रपत्रिकाहरूबाट संकलन गरिएको छ।यस कार्यकालागि आधार र श्रोत पुस्तकालयलाई बनाइएको छ।विषय विश्लेषण तथा संश्लेषणकालागि आगमन।निगमन विधि प्रयोग गरिएको छ ।

५.अध्ययन क्षेत्र र सीमा।

यो ग्रन्थ सृजनकोलागि मुख्य अध्ययन श्रोत अद्वैतवेदान्तदर्शन , वेदान्त परिभाषा(धर्मराजाध्वरिन्द्र),वेदान्तपारिभाषिक शब्दकोश तथा वेदान्तविश्वकोशहरूलाई मानिएको छ।समग्रमा अध्ययन क्षेत्र र सीमा सम्पूर्ण अद्वैत वेदान्त दर्शन सम्म मात्र फैलिएको छ।

६.अध्ययनको प्रमुख प्रश्न।

यो शोध(अध्ययन )मुख्यत:दुई प्रश्नमा केन्द्रित छ।ती हुन-१.ज्ञान(ब्रह्मज्ञान) के हो?२.ज्ञान(ब्रह्मज्ञान) कसरी हुन्छ? यी दुई प्रश्नहरूको समाधान अद्वैत वेदान्त दर्शनभित्रबाट खोजिएको छ।

७.अध्ययनको उधेश्य।

अद्वैत वेदान्त त्यति कठिन विषय हैन जति प्रचार गरिएको छ।अद्वैत वेदान्तको ज्ञान प्रकृयामा प्रयुक्त शब्द वाक्यहरू दुरुस्तै बेग्लै भाषाका शब्द वाक्य जस्ता लाग्दछन तापनि ती संस्कृत नै हुन।तर संस्कृत भएपनि बुझ्न कठिन लाग्छन् ।यदि घोरिएर ज्ञान प्रकृयाका विज्ञान(भाषिक र अर्थगत संरचना )बुझ्ने प्रयत्न गरेमा आजभोलिको सूत्रीकृत वेदान्त परिभाषा लगायतका ग्रन्थहरूबाट छात्र छात्रा तथा मुमुक्षुजनहरूले सहजै ज्ञानलाभ गर्न सक्दछ्न।यसो हुंदैपनि आएको छ।तर वर्तमान समयको शिक्षा पद्धति पूरानो वैदिक पद्धति भन्दा फरक भैसकेकोले छात्रछात्रा तथा मुमुक्षुजनहरूलाई गुरुमुखी भएर पठनपाठन गर्ने वातावरण (पात्र,स्थान र समय )को अभाव छ।यसै कठिनाइलाई ध्यानमा राखेर विना गुरुमुखी भएरपनि अद्वैत वेदान्त ज्ञान प्रक्रिया सहजै बुझ्न सकियोस भनेर यो ग्रन्थको निर्माण भएको हो प्रस्तुत ग्रन्थमा परम्परागत शब्द-अर्थवाद्परम्परामा केहि छांट्कांट्गरी लघु र रैखिकरूपमा तयार भयेकोले अध्येताहरूले अद्वैत वेदान्त ज्ञान प्रक्रिया सहजै बुझ्नसक्ने छन र सम्भव भएसम्म छिटोछरितोसंग बुझुन भन्ने ग्रन्थको उध्येश्य पनि हो।

८.विषयप्रवेश।

संसारमा रहेका कुनैपनी विषयवस्तुको बारेमा जान्नुनै ज्ञान हो।पूर्विय दर्शनपरम्परामा ज्ञानलाई मानव जीवनको एउटा अपरिहार्य आवश्यकता मानिएको छ। यहाँ ज्ञानको ठूलो महिमा गान गरिएको छ।आउनुहोस अब हामीपनि सो ज्ञानको जानकारी लियौं।

शब्दकोश अनुसार ज्ञानको अर्थहुन्छ-जानाकारि,ठिक ठिक कुराकोजानाकारि,आत्माज्ञान,अक्कल।

वेदान्त अनुसार-पहिले थाहा नभएको(अनधिगत) र पछि कुनै बाधाले न काट्ने (अवाधित) विषयवस्तुको  जानाकारी हुनु नै यथार्थ ज्ञान हो।

    उत्तर मीमांसा दर्शन अथवा वेदश्रुती,स्मृति ,पुराणहरूमा ज्ञान बारे  गहन चर्चा छ।ज्ञानको बारेमा सर्वप्रथम वेदका एकलाख मन्त्रहरूमध्य अन्तिम भागका चारहजार मन्त्रहरूमा उल्लेख गरिएको  पाइन्छ ।त्यसैगरी कालक्रमानुसार ज्ञानको अर्थ ,परिभाषा र कार्यको व्याख्या लगाउने क्रममा उपनिषद् ,दर्शन र प्रकरणग्रन्थहरू जन्मिदै गए।देशकालानुसार ज्ञान व्याख्यामा भाषाशैलीगत जटिलताहरू थपिनपुग्यो र विभिन्न मत र सम्प्रदायहरू जन्मिन पुगे , जस अनुसार ज्ञान व्याख्यामा  भिन्नता आउन थाल्यो ।यद्यपि ज्ञानको   सारभने जो ब्रह्मज्ञान प्राप्त गर्नुहो उही रह्यो।

     वैदिक सनातन आर्यहिन्दू समाजमा सृष्टि देखिनै ज्ञान प्रसारको आफ्नै परम्परा छ।जसलाई गुरुशिष्य परम्परा भनिन्छ।अद्वैत वेदान्त दर्शन वृत्तमा सो गुरुपरम्परा यसरि उल्लेखित छ।- " नारायणं पद्मभवं वशिष्ठं,शक्तिञ्च तत्पुत्र परासरंञ्च।।व्यासं,शुकं,गौडपदं , महान्तं,गोविन्द,योगिन्द्र मथास्य शिष्यम्।।श्रीशंकराचार्य मथास्य गुरु सन्तत मानतोद्रास्मि ।।अर्थात जगत्कर्ता श्रीनारायण भगवानद्वरा पद्मभवलाई वहांले वशिष्ठ्लाई,यसैगरी वहांले शक्तिलाई हुँदै शंकराचार्य र वहांको शिष्यहरूद्वारा तपाईं मेरा गुरु सम्म आइपुग्यो।तपाईं मेरा गुरुले जसरी  तपाईं  मलाई प्रदान गर्नुहुन्छ त्यसरी नै हामीले पनि आफ्ना शिष्य हरूलाई प्रदान गर्छौं र परम्परा अगाडिसर्दै जान्छ। यसैगरी प्रसारित हुँदै आएको ज्ञान परम्परा भित्र नै शृष्टी देखि आजपर्यन्त जति महापुरुषहरू (ब्रह्मा,बिष्णु,महेश) अवतिर्णहुनुभयो वहांहरूलेपनी ज्ञान प्रदान गर्नुभयो ।अर्थात शिवले पार्वतीलाई,विष्णुले गरुडलाई र रामले लक्षमणलाई ज्ञान सुनाउनुभयो ।वहांहरूले जे ज्ञान सुनाउनुभयो  त्यो सर्वप्रथम श्रीनारायणले सुनाउनु भएको  ज्ञान नै हो।जसको नाम आत्मज्ञान वा ब्रह्म ज्ञान हो,जसलाई सुनेर तत तत श्रोताहरूले मोक्षपद प्राप्त गरे।यसरी ज्ञान को प्रयोजन मोक्षप्राप्ति हो भन्ने सिद्ध हुन्छ।

     ज्ञानजान्न शास्त्र अध्ययन गर्नपर्छ भनियो एकातिर  भने अर्कोतिर गुरुले ज्ञान प्रदान गर्नुहुन्छ भन्ने पनि छ।त्यसो भए के ज्ञान शास्त्र अध्ययन गरेर नै प्राप्त गर्न सकिन्छ  वा गुरुद्वारा उपदेश लिएपछिमात्र हासिल गर्न सकिन्छ ? उत्तर हो-दुवै बाटो बाट सकिन्छ तर शास्त्र शास्त्रलेखिएको समय सम्मकोमात्र ज्ञान गराउन सक्छ भने त्यसमा लेखिएको विषय वस्तु बुझ्न  अति कठिनपनी हुन्छ। यो समस्या बाट मुक्ती पाउन प्रत्यक्ष गुरुसमीप अन्तरकृया सहितको ज्ञान श्रवण अधिक फलदायक हुन्छ।यद्यपि गुरु पनि शास्त्रोक्त बांधिएर नै उपदेशगर्नु हुन्छ ।वेदबाट सुरु भएको  ज्ञानको कुरो उपनिशद,दर्शनहुंदै हिजोआज प्रकरणग्रन्थहरू जस्तै:-वेदान्तपरिभाषा,भामती भाष्य आदि शास्त्रहरूमा विस्तृत रूपमा वर्णित छन।आउनुहोस अब यहाँ  ज्ञानको  स्वरुप र प्रक्रिया  बारे "वेदान्तपरिभाषा हिन्दी -नेपाली पुस्तकहरूमा "आशृत रहेर थुतिएको मुख्यसार पढौं।मुख्यसार थुत्नुको आशय हो ज्ञान जान्न उत्सुकहरूलाई सजिलो होस वा चांडैबुझ्न सकियोस।किनकी वेद,उपनिषद,प्रकरण ग्रन्थहरू वा वेदान्तपरिभाषा नै किन नहोस यति दुर्बोध्य,समय लिने,वाद्विवाद-तर्कवितर्क र शंका उपशंकाहरूले भरिएकाछनकि तीनलाई छिचोलेर सारवोधगर्न लामो त्याग र तपस्याचाहिन्छ जो आज हामी संग  छैन।  हुनत इतिहांसमा छिनभरमै ब्रह्मवोध गर्न सक्ने पात्रपनी जन्मिएका देखिन्छन्  अथवा गर्भभित्रै देखि ज्ञानी भएर जन्मिएकापनी छन ती असमान्य घटना थिए ।,आजपनी हुन सक्छन तर त्यस्ता विलक्षण पुरुष हरूलाईपनी एक न एक पटक ज्ञान श्रवण हुन त पर्छ नै।बोधशुलभता र क्षमता  व्यक्ति पिच्छे फरकफरक  हुनु अर्कै कुरा हो ।जस्तो:अर्जुन लाई मर्नुमार्नुको कठिन स्थितिमा  ज्ञान बोधको अवसर लाभ भएको थियो  भने शुकदेवलाई  आमाको गर्भ भित्रै।त्यसैगरी बुद्धले  कयौं वर्ष  तपस्यागर्दापनी नपाएको ज्ञान अवस्था परिवर्तन गरेपछिमात्र प्राप्तगरे भने जनकलाई  यज्ञ्यवलक्यले क्षणभरमै ज्ञान वोध गराइदिए।अस्तु।यहांनेर एउटा अर्को जान्नपर्ने कुरा-देशियरूपमा वेदान्त ज्ञान प्रसार हुने क्रममा हाम्रो देश नेपालमा बि.सं.१९८६देखि संगठित र वयक्तिगत प्रयास हुन थालेको देखिन्छ।(हेर्नुहोस-रिमाल,वासु(२०६४)वेदान्त विश्वकोश-२,श्रीमती शारदा रिमाल,विश्वकोश प्रकाशन,जावलाखेल,ललितपुर )।


८.१ लघु रैखिक अद्वैतवेदान्तप्रमासार कौमुदी।

यो ग्रन्थ को शिर्षकको अर्थ-

लघु माने छोटोमीठो,रैखिक माने सोझोरेखाजस्तो अद्वैत्वेदान्तप्रमासार माने अद्वैत वेदान्त यथार्थ ज्ञान को सारभूत कुरा र कौमुदी माने तीसवैमाथी प्रकाश् पार्ने चन्द्रमा हो।

यो ग्रन्थको विषयको मूल श्रोत वेद भयेतापनी अहिलेलाई वेदान्तपरिभाषा धर्मराजाध्वरिन्द्र-टीकाकार गजाननशास्त्री-सम्पादक श्रीरामशास्त्री तृतीय संस्करण 1983 , वेदान्तपरिभाषासार नेपाली रूपान्तरण श्री शरत्कुमार भट्टराई प्रथम संस्करण  2068 , अद्वैतचुडामणी,प्रा.चुडानाथ भट्टराई,प्रथम संस्करण-२०३१ र https://m.youtube.com/watch?v=zs6hA1VSR6U#searching,

संस्कृत्ं पठाम,आचार्य गोविन्द पान्डेय,वेदान्तपरिभाषा युटुव, पाठहरू हुन ।यी सवैका विषयवस्तु पद्म पादाचार्यको विवरण प्रस्थान नजिक छ।यद्यपि यहाँ भामती भाष्यकापनी केही कुरा सकारिएको छ।

ज्ञान एउटा साधन हो जसबाट ब्रह्मलाई चिनिन्छ।ब्रह्मचिनेपछी ब्रह्मज्ञान हुन्छ ब्रह्मज्ञान भयेपछी मोक्ष प्राप्त हुन्छ।यो कसरी हुन्छ सो कुराको ज्ञान अब हुँदै जान्छ।

ईश्वर (ब्रह्म) सच्चिदानन्द स्वरूप हुनुहुन्छ।हामी जीव ईश्वर( ब्रह्म)कै अंश हौं यस कारण हामी पनि सत्चिदानन्द स्वरूप भयौं।अर्थात हामीलाई आफू ज्ञानी भयेको कुरा पहिल्यै भैसकेको छ ।फेरि ज्ञान हांसिल गर्न किन पर्यो?जगत मिथ्या हो अनिर्वचनीय छ भने त्यो झुटो अन्त्यहिन बिषयको खोजमा किन समय खेर फाल्ने?यसको उत्तर हुन्छ-हामीसँग भएको ज्ञान अज्ञान(अबिद्ध्या)द्वारा छेकिएर बसेको हुन्छ ।हामीले अबिद्ध्याद्वारा ज्ञानलाई बिर्सिसकेका हुन्छौं ।त्यस लाई पुनस्मरणगर्न हामीलाई सो अबिद्ध्यारूपी छेको भत्काउन  पर्नेहुन्छ।तबमात्र हामी ज्ञान साक्षात्कार गर्न सक्छौं ।ज्ञान साक्षात्कार गर्न (ब्रह्मज्ञानी हुन) ब्रह्मज्ञानरूप साधनबाट ब्रह्मज्ञान प्राप्ती अद्वैत वेदान्तको अर्थ एवं परिभाषा बाट हुनसक्छ ।अद्वैतवेदान्त जहाँ वेद समेटिएको छ मा भनिएको छ-जगतमा मानिस आएपछि धर्म,अर्थ,काम  र मोक्षरूपी पुरुषार्थबाट बांधिएको हुन्छ।अर्थात जगतलाई गति दिन यी पुरुषार्थ साध्नपर्ने हुन्छ।येसो वेद्मा भनिएको छ।जगत हेरेरपनी यो कुराको अनुभव हुन्छ।धर्म भनेको वेद विहित कर्म गर्नु हो।अर्थ भनेको कृषिपशुपालन,उद्ध्योग व्यापार बाट आय आर्जन गर्नु हो।काम भनेको सन्तानोत्पादन तथा क्षणिक भोग विलाश आदि कर्महुन।मोक्षभनेको निरतिशय सुख प्राप्ति अर्थात जन्ममरण चक्रबाट मुक्तहुनुहो।अर्थात अबिद्ध्या निवृत्तिहुनु र अहं ब्रह्मास्मि वाक्यमा अनुदित हुनुहो।यद्यपि  धर्म अर्थ काम मोक्ष एकै लहरमा उभिएको छन् तापनी धर्म अर्थ काम पुरुषार्थमात्र हुन,अनित्य छन ।मोक्षचाहिं परम पुरुषार्थ हो।नित्य छ।यो कुरा प्रत्यक्ष प्रमाण र श्रुति(शब्दप्रमाण)बाट थाहा पाइन्छ । धर्म अर्थ कामको फल नाशवान(अनित्य)हुन्छन भने मोक्षको फल अविनाशी(नित्य)हुन्छ।धर्मको फलको नाश हुनेछ भन्ने कुराको प्रमाण श्रुति(शब्द)हरूबाट थाहा पाइन्छ।अर्थ कामको फलको नाश हुने कुराचाहिं प्रत्यक्षप्रमाण र श्रुतिप्रमाणबाट थाहा हुन्छ ।कहिल्यै नाश नहुने परम पुरुषार्थ "मोक्ष"को ज्ञानचाहिं ब्रह्मज्ञानरूप साधनबाटमात्र ठ्हर्छ।अब यहाँ पुरुषार्थलाई छाडेर परमपुरुषार्थ मोक्ष प्राप्तिकोलागी जान्नपर्ने वस्तु ब्रह्म के हो?ब्रह्मको ज्ञान कसरी हुन्छ?सप्रमाण बेलिविस्तार गरिन्छ।अहिलेसम्म प्रस्तुत मान्यतामा अन्यदर्शन र तीनका शाखाहरुले फरकमत राख्छन् तरपनी लक्ष्य भने एउटै हो।स्मरणीय छ ज्ञान तत्वज्ञान र आत्मज्ञानगरी दुईभागमा बांडिएको हुन्छ।यी दुवैज्ञान ब्रह्मज्ञानभित्रै पर्दछन।इहखलु धर्मार्थकाममोक्षाख्येषु०।।६।।७।।

९.ज्ञान के हो ?

अद्वैत वेदान्त(विवरण प्रस्थान मत)मा ज्ञानलाई प्रमा भनिनछ।प्रमा अर्थात यथार्थ ज्ञान ३ प्रकारको हुन्छ।यथार्थ ज्ञान,भ्रम ज्ञान र प्रातिभाषिक ज्ञान । यथार्थ ज्ञान गराउने साधनलाई (करणलाई)नै प्रमाण भनिन्छ ।प्रमाका दुई लक्षण छन् ।प्रथम अनधिगत अर्थात पहिले थाहा नभएको र दोस्रो अवाधित अर्थात अरु प्रमाण बाट नकाटिने।यी दुई लक्षण लागुहुने बिषयहरूको ज्ञान हुनु नै प्रमा(ज्ञान)हुनुहो।यहाँ स्मृतिव्यावृत्त प्रमात्वहो भने अवाधित विषयको ज्ञान स्मृतिसाधारण ज्ञान हो।वेदान्तले स्मृतिव्यावृत लक्षणमात्र  मान्दछ।

वेदान्त सिद्धान्त अनुसार ज्ञान धारावाहिकरूपमा(कालक्रमसंगै) जन्मिरहन्छ।(क्यामाराले फोटो खिचे जस्तै,भिडियो खिचेजस्तो हैन)।ज्ञानको भेद रहंदैन।किनभने जबसम्म भुंड्को एउटा विषयको अनुभव (स्फुरण)भइरहन्छ अथवा आंखाबाट बाहिरिएको अन्तस्करण बृत्ती भुंड्कोमा टिकिरहन्छ तवसम्म भुंड्को आकारमा परिणत भएको अन्त:करण वृत्ती एउटै रहन्छ।एउटा समयमा  एउटा भुंड्कोमा टिकेको  वृत्तिमा अर्को विषय सुराही आउन सक्दैन।अर्थात एकाकार ज्ञानमा अन्तकरणवृत्ती अनेकाकार हुन सक्दैन ।किनभने अन्त:करणको वर्तमानवृत्ती विरुद्ध अर्को वृत्ती उत्पन्न हुने वेलासम्म स्थायी अर्थात स्थिर रहन्छ।विरोधी वृत्ती जन्मिने समयसम्म भुंड्को आकार भयेको वृत्ती एउटै हुने हुंदा त्यस स्थिर वृत्तिमा प्रतिविम्बित भएको चैतन्यरूप भुंड्कोआदी विषयक ज्ञानपनी तवसम्म अर्थात जबसम्म वृत्ति स्थिर रहन्छ एउटै रहन्छ।यसकरण अनधिगत विषय ज्ञानत्व यस ज्ञान लक्षणको धारावाहिक ज्ञानस्थल(बुद्धि स्थल)मा अव्याप्ती छैन ।धारावाहिक ज्ञानमा यदि अनधिगतज्ञान बिषयत्व हुंदोहोता यो लक्षणको त्यसमा अव्याप्ती हुन्थ्यो।धारावाहिक ज्ञानमा अनधिगत अर्थात पहिले थाहा नभयेको भुंड्कोनै बिषय हो।अत:प्रमाको पहिलो लक्षण अव्याप्ती दोष बाट दुषित छैन।येस बिषयमा दर्शनहरूमाझ मतभेद छन ।तत्रप्रमाकरणं प्रमाणम्।।७।।८।।९।।

वेदान्त सिध्दान्तमा सम्पूर्ण जगत र नामरूपात्मक बिषय वस्तुहरू मिथ्या(झुठा)हुन भने तीनको ज्ञान किन गरिरहने?र सत्यको ज्ञान गर्न जगतभित्रैको झुठा वस्तुहरु प्रमाण बन्ने योग्यता कसरी राख्छ्न?झुठो प्रमाण त सत्यको निर्णयमा मान्य हुंदैन।यो प्रश्न ठीक हो।जब सम्म हामी सांसारिक रहिरहन्छौं यस्तै मिथ्या द्वैत अवस्थामा रहन्छौं।जब हामी आत्मसाक्षात्कार(ब्रह्मज्ञान)गर्छौं तब यो सम्पूर्ण झुठो जगतपनि ब्रह्ममय हुन्छ।त्यो साक्षात्कृत अधिष्ठानमा स्थित अवस्थामा हामीमा तृपुटि रहंदैन।अर्थात ज्ञाता-जान्नचाहाने पुरुष,ज्ञेय-जान्न चाहिंने विषयवस्तुहरू र ज्ञान-जानिएका कुराहरू माझको एकलता(भेद)रहंदैन। म भन्ने भाव ब्रह्ममा अनुवाद हुनेछ ।सर्वत्र परिवेस ब्रह्म्ममय बन्दछ।यस्तो अवस्थामा कुन इन्द्रियले कसलाई देख्ने?एकछत्त।यो कुरालाई श्रुतिले यसरी भनेको छ-"यत्र हि द्वैतमिव भवती तद्तिर इतरं पश्यती"।अर्थात संसारदशामा द्वैत जस्तो भान हुन्छ।एक मान्छे(प्रमाता)ले आफू बाहेक अर्को विषय(प्रमेय)भुंड्को,सुराहिआदी देख्छ।यसकारण  "आ आत्म निश्चयात " अर्थात ब्रह्मसाक्षात्कार नभयेसम्म शरीर नै आत्मा हो भन्नेकुरा प्रमाण सहित भन्न सकिन्छ ।जगत र येसभित्रका विषयवस्तु(भुंड्कोआदी)हरुको ज्ञान नै यथार्थ ज्ञान हो।प्राचीन साम्प्रदायिक (ऋषिमुनी)हरूले पनि यसै भन्नुभएको छ।ननु सिध्दान्ते घटादेर्मिथ्यात्वेन०।।१०।।

यसरी निष्कर्षमा के भन्न सकिन्छ भने संसारिक अवस्थामा भुंड्कोलाई भुंड्को भनेर जानेको नै ठीक हो भने ब्रह्मज्ञान भएपछी जगत र जगतभित्रको सम्पूर्ण विषयवस्तु हरू ब्रह्म हुन भनेर जान्नु ब्रह्मज्ञानप्राप्त (पारमार्थिक सत्तामा पुगेको) अवस्था हो।त्यसैले यो कुरालाई जान्न ब्रह्मलाई जान्नपर्यो।ब्रह्मलाई जान्न ब्रह्मज्ञान हुनपर्यो।ब्रह्मज्ञान हुन ब्रह्मज्ञानको कारक प्रमाणहरू जान्न्पर्यो।त्यसैले अब प्रमाणहरूको अध्य्यनमा प्रवेश गरिन्छ।

यद्यपि एक देखि सात प्रमाण मान्नेपनी यहीँ छन तापनी अद्वैतवेदान्तीले मात्र छ थरीका प्रमाण मान्दछन।ती हुन -प्रत्यक्ष ,अनुमान,उपमान,अर्थापत्ती, शब्द, र अनुपलब्धि।यहाँ  प्रत्यक्षलाई पछी छाडेर अनुमानदेखि क्रमश:संक्षिप्त परिचय दिइन्छ।

क.अनुमान प्रमाण 

जुनमान्छेलाई आफ्नू घरको चुलोमा बल्निनिभ्नी आगोलाई देखेर जहाँ जहाँ धुवां हुन्छ त्यहाँ त्यहाँ आगो हुंदोरहेछ भन्ने आगो र धुवांको कहिल्यै नछुट्ने सम्बन्धको ज्ञान सधैं भरिलाई भएको छ,त्यो मान्छे कतै टाडाको डांडांमा डांडोबाट निस्किएर मास्तिर गैरहेको धुवांको अवछिन्न मुस्लो देखेर जहांजहां धुवां हुन्छ त्यहां त्यहां त आगो हुन्छ भन्ने सम्झेर ए!यो डांडामा त आगो रहेछ भन्ने जुन ज्ञान गर्छ त्यसलाई अनुमिति ज्ञान भनिन्छ।यो ज्ञानको कारकलाई  अनुमान प्रमाण भनिन्छ।

ख.उपमान प्रमाण।

जुनमान्छेले आफ्नो गाउँ घरमा गाई अथवा गोरु देखेको छ त्यही मान्छे वन जान्छ र त्यहाँ आफूलाई पहिले थाहा नभएको गवय(नीलगाई)नामको पशुलाई देख्छ।तब उ आफ्नो मनमा गुन्न थाल्छ्की कसैले भनेका थिए गवय(नीलगाई)गाईजस्तै हुन्छ।यसकोपनि मैले गाउँ घरमा देखेको गाईको आकार प्रकार जस्तै जीउडाल छ भने उसलाई निश्चय हुन्छकी पक्कैपनी यो गवय हो।यो ज्ञान लाई उपमिति ज्ञान(प्रमा)भनिन्छ ।यो ज्ञानको करण सादृश्यमान हो।यसलाई नै उपमान प्रमाण भनिन्छ ।

ग.शब्दप्रमाण।

"प्रतिदिन गायत्रीजप गर्नुपर्छ" यो वैदिक वाक्य र "गाईको बाच्छोलाई बांध" यो लौकिक वाक्यलाई सुनेर जो शब्दार्थ ज्ञान उत्पन्न हुन्छ त्यसलाई शाब्दिज्ञान भनिन्छ।यहाँ माथी उल्लिखित वाक्यलाई उच्चारण गर्ने मान्छेले जुन इच्छित अर्थबाट वाक्यको उच्चारण गरेको छ,त्यो अर्थमा त्यो वाक्यको तात्पर्य रहन्छ।यस्तो तात्पर्ययुक्त वाक्यको ज्ञान नै शाब्दी ज्ञान(प्रमा)को करण हुन्छ।यस्तो वाक्यज्ञान नै शाब्दीप्रमाण हो।

घ.अर्थापत्ती प्रमाण।

प्रत्यक्ष प्रमाण जस्तो अर्थापत्ति प्रमाण पनि ज्ञान र प्रमाण यी दुवै अर्थहरुमा प्रयोग हुन्छ।जस्तै-यो मोटोघाटो "वालेन" दिउँसो भोजन गर्दैन,यो वाक्य सुनेर देखिइरहेको वालेनको मोटोपन राति भोजन नगरे असम्भव छ ।यसकारण उसको मोटोपन देखेर थाहाहुने ,उसले अवस्य राति भोजन गर्छ,भन्ने जो ज्ञान हो त्यसलाई अर्थापत्ती भनिन्छ र त्यो मोटोपन ज्ञानरूप करणलाईपनी अर्थापत्ती भनिन्छ।यस्तो प्रकारको ज्ञानको करणलाई अर्थापत्ती प्रमाण भनिन्छ ।

ङ.अनुपलब्धि प्रमाण ।

भुंड्को नभएको खालि  ठाउँमा भुंड्कोको अभावरूप जुन विलक्षण ज्ञान हुन्छ,त्यो अभावको अनुभवलाई अनुपलब्धी ज्ञान भनिन्छ।भुंड्कोको अनुपलब्धी(भुंड्को न पाइनु)यो नै त्यो अनुपलब्धिरूप ज्ञानको करण हो।यो प्रक्रिया नै अनुपलब्धी प्रमाणहो।यसरी जसरी इन्द्रिय प्रत्यक्ष प्रमाणको करण हो उसैगरी व्याप्ति,सादृश्यता,मोटोपन र अभाव सबै यथाक्रम अनुमिति,उपमिति,शब्द,अर्थापत्ती र अनुपलब्धि ज्ञान(प्रमा)का करण हुन् ।

तानी च प्रमाणानी०।।११।।

९.१ प्रत्यक्ष प्रमाण 

अथ प्रत्यक्षप्रमाण :परिच्छेद:

प्रमा अर्थात यथार्थ ज्ञान हुन साधन अर्थात करण चाहिन्छ्न।ती साधान वा करणहरूलाई प्रमाण भनिन्छ ।अद्वैत वेदान्त मतमा यथार्थ ज्ञानसाधन गर्ने करण अर्थात प्रमाणहरू छ प्रकारका हुन्छ्न।यी छ थरी प्रमाण मध्य यहाँ प्रत्यक्ष प्रमाणको बारेमा जानिन्छ।प्रत्यक्ष प्रमाको(यथार्थ ज्ञानको)करणलाई प्रमाण भनिन्छ।वेदान्तमा प्रत्यक्ष यथार्थ ज्ञान भनेको चैतन्य नै हो।

अथ प्रत्यक्ष प्रमाण :परिच्छेद:तत्र प्रत्यक्ष प्रमाया:०।।१।।

चैतन्य नित्य भएर पनि त्यसलाई अभिवक्त गर्ने अन्त:करणवृत्ती इन्द्रिय सन्निकर्षहरूबाट बन्दछ।यसबाट नै वृत्तिबिशिष्ट चैतन्य उत्पत्ती हुन्छ।वृत्तिलाई गौणार्थमा ज्ञानपनि भनिन्छ ।ननु चैतन्यमनादी०।।२।।

अन्त:करण सावयव,सादी द्र्व्यहो।अन्तकरण्वृत्तिरूप ज्ञान अन्तस्करणको(मनको)धर्म हो।काम,सङ्कल्प,विचिकित्सा,श्रध्दा,अश्रध्दा,धृति,अधृति,लज्जा,धी र भय सवै मनका रूप हुन।ननु निरववयवस्यान्त:०।।३।।

काम आदि(काम,सङ्कल्प,विचिकित्सा,श्रध्दा,अश्रध्दा,धृती,अधृती,लज्जा,धी र भय)अन्तस्करणको धर्म हुन भन्ने मानियो यता म इच्छा गर्छु,जान्दछु,डराउंदछु जस्ता आत्माधर्मत्वलाई बिषय गर्ने अहंशब्दवाच्य आत्मको धर्म हुन भन्ने अनुभवचांहि कसरी युक्तिसंगत हुन्छ? यस्तो वाक्यमा मन जोडिनु पर्ने!यो शङ्काको निवारणमा वेदान्ती यस्तो जवाफ दिन्छन-"जसरी एउटा फलामको डल्लामा पोल्ने शक्ति नभएपनि पोल्ने शक्ति भयेको आगोको तादात्म्य अध्यास भएपछि यो फलामको डल्लोले पोल्छ भन्ने जानेर आफू अनुकूल व्यवहार गरिन्छ त्यसै गरेर सुखादी आकारमा परिणत भएको अन्त:करण(मन)संग आत्माको ऐक्यको अध्यास भयेपछि म सुखी,म दु:खी इत्यादी वाक्यव्यवाहार हुन्छ"।ननु कामदेरन्त:०।।४।।।

९.२ मनको अतिन्दृयत्व निरूपण।

शास्त्रले अन्त:करण(मन)लाई इन्द्रिय मानेको छैन ।त्यसैले मन इन्द्रिय हैन।

नन्वन्त:करणस्ये०।।५।।

न्ययावादी मनलाई इन्द्रिय भनेर स्वीकार गरिएन भने सुखादिको प्रत्यक्ष अनुभव पनि प्रत्यक्ष हुन सक्दैन,किनभने ज्ञानमा इन्द्रियजन्यत्व हुनाले ज्ञानको साक्षात्व हो भन्न मिल्दैन भन्दछ्न।उत्तरमा वेदान्ती भन्छन् -इन्द्रियजन्य हुनाले ज्ञानको साक्षात्व यदि स्वीकार गर्नेहो भने अनुमिति,उपमिति ज्ञान पनि मनबाटै उत्त्पन्न हुनेहुंदा तीनलाईपनि साक्षात्व(प्रत्यक्षत्व)भन्नुपर्ने हुन्छ।अर्कोतर्फ ईश्वरको ज्ञान इन्द्रियजन्य नहुनाले  त्यसलाई सक्षात्व होइन भन्नू पर्ला।ईश्वरको ज्ञान इन्द्रियहरूबाट उत्पन्न नहुने हुंदा कसैलाई पनि ईश्वरको सात्क्षात्कार नहोला।

१०.ज्ञान प्रकृया।

नचैवंमनसोSनिन्दृयत्वे०।।६।।

तार्किकहरू वेदान्तीलाई सोध्द्छन-प्रत्यक्षको कारक के हो?वेदान्ती तार्किकलाई प्रतिप्रश्नगर्छन-तपाईंले कुन प्रत्यक्षलाई भनेको ? ज्ञानगत कि विषयगत?ज्ञानगत सोधेको हो भने- प्रमाण चैतन्यको(अन्तस्करणवृत्त्यवछिन्न चैतन्य)+विषयावछिन्न चैतन्यसंग अभेद वा तादात्म्य वा ऐक्यहुनु ज्ञानगत प्रत्यक्षको कारण हो।

चैतन्य एक भयेरपनि उपाधिको कारणले फरक फरक फरक देखिन्छन् ।अत:चैतन्य तीन प्रकारको हुन्छन् ।विषय चैतन्य,प्रमाण चैतन्य र प्रमात्री चैतन्य।यीनमा भुंड्कोआदी विषययावछिन्न चैतन्य विषय चैतन्यहो,

अन्तस्करणवृत्तयावच्छिन्न चैतन्य प्रमाण चैतन्य र अन्तस्करणावच्छिन्न चैतन्य प्रमात्री चैतन्य हो।सिध्दान्ते प्रत्यक्षत्व प्रयोजकं०।।७।।

यसरी प्रत्यक्ष दुई प्रकारको हुन्छ।प्रत्यक्ष ज्ञान गर्ने सूत्र यस्तो हुन्छ।"ज्ञान प्रत्यक्ष =अन्तस्करणवृत्त्यावच्छिन्न चैतन्य+विषयावच्छिन्न चैतन्य"। यो सूत्रको प्रयोग गरेर हामी अणुदेखी ब्रह्माण्ड सम्मको सारा विषयहरूको जस्तो माटाको भुंड्को,रुख,मानिस र ब्रह्माण्डको ज्ञान गर्न सक्छौं।यीनिहरू प्रत्येकमा आआफ्नो भागको चैतन्य वसेको हुन्छ ।अब यहाँ ज्ञानगत प्रत्यक्षको दुई उदाहरण दिइन्छ।एक बाह्यविषय,अर्को भितृविषय।बाह्यविषय माटाको भुंड्कोआदी हुन् भने,भित्रीविषय सुखदुःख हुन।अब माटाको भुंड्को कसरी प्रत्यक्ष हुन्छ त्यसको प्रक्रिया -माटाको भुंड्को=विषयावच्चिन्न चैतन्य(माटाको भुंड्कोचैतन्न्य सहितको)+अन्तस्करणवृत्यावच्छिन्नचैतन्य(रित्तो वृत्तिमा चैतन्य लिएर बसेको अवस्थाको वृत्ती)एक भयेपछी भुंड्को अंशजती ज्ञानमा फेरिन्छ र भुंड्को प्रत्यक्ष हुन्छ।यहाँ  अन्त:करणवृत्ती र भुंड्कोआदि विषयहरू दुई भिन्नै उपाधि भयेपनि एकभएपछि भिन्नता हराउँछ ।यी दुई उपाधि माझ भिन्न्ता छुट्टिने सामर्थ्यरहंदैन।जसरी  घरभित्र रहेको भुंड्कोले ओगटेको आकास र घरले ओगटेको आकास एक हुन्छ।

तथा चायं घट०।।८।।

यसरी यो भुंड्कोहो भन्ने प्रत्यक्ष ज्ञानले घटाकार वृत्तिमा भुंड्को संयोगित्व रहन्छ।अथवा वृत्ती भुंड्कोसंग संयुक्त हुन्छ भन्ने जनायो।तथा चायं घट इति०।।९।।

अब सुखादिसंग(भित्रीविषय)समेटिएको चैतन्य(सुखादिअवच्छिन्न चैतन्य) र सुखादिको आकारमा परिणत भएको अन्तस्करणवृत्यावछिन्न चैतन्य दुवै नियमानुसार एकै स्थानमा आउंछ्न।सुखादी र सुखाध्द्याकारवृत्तिरूप एकै भएपछी नियमत म सूखी हुं भन्ने ज्ञान सुखादिअंशमा प्रत्यक्षहुन्छ।सुखाध्यवच्छिन्नचैतन्यस्य०।।१०।।

यसपछी सुखादिज्ञानमा विचारगर्नपर्ने कुराहरू भेद,काल,एकदेशस्थत्व,स्मृति,योग्य,वर्तमान,उपधेय,अन्यप्रमाणमा व्यप्ती।अव्याप्तीका प्रसंगसाथै एउटै ज्ञानमा प्रत्यक्षत्व।अप्रत्यक्षत्व,अवच्छेदक,जातित्व,अंश आदि हुन।नन्वेवं स्ववृत्ती०।।११,१२,१३,१४,१५,१६,१७,१८,१९।।

अब विषयगत प्रत्यक्षको बारेमा जानिन्छ।

प्रमाताबाट भुंड्कोआदी विषयको अभिन्नत्व हुनु नै विषयगत प्रत्यक्षत्वको कारण हो।यहाँ भुंड्कोआदी विषयको अन्तस्करणावच्छिन्न चैतन्यसंग अभेद हुन कसरी सक्छ? किनभने विषयको प्रमातासंग अभेद मान्नेहोभने "म यस भुंड्कोलाई देख्छु" भन्ने भेदानुभव कसरी हुन सक्छ ? जबकि म(प्रमात्र) र भुंड्को(विषय)त एक भै सक्यौं?भन्ने प्रश्न उठ्छ।यहाँ प्रमात्री(भुंड्को)अभेदको अर्थ प्रमात्र ऐक्य(भुंड्कोपनि म बन्ने हैन )हैन तर अन्तस्करणावच्छिन्न चैतन्यरूप प्रमाताको सत्तादेखी भिन्न भुंड्कोआदी विषयको सत्ताको अभावले यहाँ प्रमात्री(भुंड्को)भेद रहिरहन्छ भन्ने बुझ्नपर्छ।अत:भुंड्को आदि विषयबाट छिनिएको(अवच्छिन्न)चैतन्यमाभुंड्कोआदी विषयको अध्यरोप(अध्यास)भएपछी विषयचैतन्य सत्ता नै भुंड्कोआदी विषयको सत्ता हुन्छ।वेदान्तीहरू अधिसष्ठानसत्ता भन्दा वाहेक आरोपित अध्यस्तको बेग्लै सत्ता मान्दैनन् ।अत:पूर्वोक्तानुसार प्रमात्री चैतन्य नै विषयचैतन्यहो।यसरी भुंड्कोआदी विषयको प्रत्यक्षत्व सिध्द्भयो।

घटादेर्विषयस्य०।।२०।।

अनुमितिआदि ज्ञानमा अन्तस्करणको वृत्ती अनुमेय बन्हिआदिमा जांदैन , त्यसकारण बन्ह्यावच्छिन्न चैतन्य प्रमात्री चैतन्यता होइन।अत:बन्हिआदिको सत्ता प्रमातृसत्तादेखी वेग्लैहो।पूर्वोक्त भुंड्कोआदी विषयको प्रत्यक्ष लक्षण अनुमेय बन्हिआदि परोक्ष विषयमा अतिव्याप्ती हुंदैन। अनुमित्यादिस्थले०।।२१।।  

यहाँसम्म आइपुग्दा हामीले ज्ञान प्रक्रिया दुई प्रकारका हुनेकुरा बुझ्यौं।त्यो हो,ज्ञानगत प्रत्यक्षको प्रयोजक सूत्र र विषयगत प्रत्यक्षको प्रयोजकको सूत्र बाट।ज्ञानगत प्रत्यक्षको सूत्र-पमाणचैतन्यको विषयावच्छिन्न चैतन्यसंग अभेद र विषयगत प्रत्यक्षको सूत्र प्रमाताबाट घटादि विषयको अभिन्न्त्व थियो।र योपनिजान्यौंकि,ज्ञान प्रत्यक्षहुन यी सूत्रमात्र पर्याप्त हुंदैनन।यिनलाई परिष्कार गर्दै लानुपर्छ ।परिष्कार गर्दैलग्दा अन्त्यमा सूत्र यस्तो बन्छ।ज्ञानगतको "तततद इन्द्रिययोग्य वर्तमान विषयावच्छिन्न चैतन्याभिन्न प्रमाणजन्य वृत्यावच्छिन्न चैतन्यत्वम" र विषयगतको "स्वाकाराकार वृत्युपहित चैतन्यायोग्यत्वेसति वर्तमानत्वेसति स्वाकार वृत्युपहित प्रमात्रचैतन्यसत्ता अतिरिक्तसत्ता शून्यत्वम"।यसरी मात्र वाह्यविषय घटपट तथा भित्री विषय सुखदु:ख,धर्माधर्मसम्म सूत्रले व्याप्ति गर्न सक्छ।यसैगरी सूत्रबद्ध ज्ञानमा कतै प्रत्यक्षप्रमाणमात्र लागेको हुन्छ,कतै अनुमानादि प्रमाणहरूपनि मिलेर लाग्छन् र ज्ञान प्रत्यक्ष हुन्छ।जस्तै-यो पर्वत आगोयुक्त छ,भन्ने ज्ञान प्रत्यक्ष गर्दा यसमा प्रत्यक्ष र अनुमान दुवै प्रमाणहरूको मिश्रण हुन्छ।

यहाँ आएर यो लघु रैखिक अद्वैत वेदान्त प्रमा सार कौमुदीको औचित्य सकिन्छ।किनकि हामीले ज्ञान केहो र ज्ञान कसरी हुन्छ जानिसक्यौं।अब अगाडि आफूलाई चाहिएको ज्ञान ज्ञानगर्न हामीलाई पूर्ण "वेदान्त परिभाषा"को ज्ञान गर्न आवश्यक हुन्छ।यद्यपि यो "लघु रैखिक अद्वैतवेदान्तप्रमासार कौमुदि"मात्रको अर्थबुझ्नपनि यस अगाडि "सर्व अद्वैत वेदान्त सार संग्रह, विवेकचुडामणि,आत्मबोध,

तत्ववोध,तर्कसंग्रह, वेदान्तसार,मनन अनुमिती,अद्वैत वेदान्तमे तत्व और ज्ञान"जस्ता ग्रन्थहरूको अध्ययनको आवश्यकता पर्छ।तथापि वेदान्तदर्शन अध्ययन गर्ने छात्र छत्राहरू तथा वेदान्त स्वाध्ययनमा लागेका मुमुक्षुजनहरूलाई यो कृतग्रन्थ सम्बन्धित विषय प्रवेशगर्न सहायक हुने छ।

(यसपछी प्रत्यक्ष प्रमाण परिच्छेद्का बांकी मन्त्रहरूको संक्षेप उल्लेख गरिएको छ।  मन्त्रहरू(पाठ)अति गहिरा छन।यो बुझ्न पूर्ण वेदान्तपरिभाषाको अध्ययन आवश्यक छ) ।

- नन्वेवमपि धर्माधर्मयो०।।२२।।यो मन्त्रमा प्रमात्रभेद,धर्माधर्म,परोक्ष योग्यत्व,अतिव्यप्तिआदी कृयाको अर्थदिएकोछ।

- नन्वेवमपी रूपीघट इति०।।२३।।मा रूपवान भुंड्को,रूपावच्छिन्न चैतन्य,परिणामावच्छिन्न चैतन्य,सत्ता,प्रमातृअभेद,विषयगत प्रत्यक्षको लक्षण,अतिव्याप्तिको अर्थलगाइएको छ ।

- नन्वेवं  वृत्तावव्याप्ती:०।।२४।।मा तददाकार वृत्युपहित विशेषण,वृत्याकार,वृत्युपहित प्रमात्रभेद,लक्षण,प्रमात्रभिन्न सत्ताकत्व,केवलसाक्षी,प्रयोजक लक्षण(विषयगत)को अर्थ लगाइएकोछ। 

 -नचान्त:करणतद्धर्मादिनां०

।।२५।।मा अन्तस्करण र अन्तस्करणका कामादि धर्मामा वृत्तिविष्यत्व सम्बन्धमा मत भिन्नताछ।केवलसाक्षीमा केवलको अर्थ वृत्ती परिहार(हटाउन) हैन,वीना वृत्ती नै साक्षीवेधत्व भन्नू केवलसाक्षी वेधत्वको अर्थ हैन।तर यसमा प्रत्यक्ष ,अनुमानाआदी प्रमाणहरूको अभावमापनि अन्तस्करण र त्यसको धर्ममा साक्षी विषयत्व रहन्छ।यसै आशयले नै केवलसाक्षी विषयत्व भनिएको हो।यश विषयमा अर्को मन्त्रमा पद्मपादाचार्यको विचार छ।

- अत:एवाहङ्कारटीका०।।२६।। यस मन्त्रमा पद्माचार्य,सर्ज्ञात्ममुनी तथा साम्प्रादायिकहरूको केवलसाक्षी विषयमा विचारहरू छन।     

- तदयं निर्गलितोSर्थ:०।।२७।। 

यसमन्त्रमा "स्वकारावृत्युपहित प्रमातृचैतन्यसत्तारिक्तसत्ताक"प्रतिपादन गरिएको छ।यसरी ज्ञानगत र विषयगत प्रत्यक्षको अर्थ सिध्द हुन्छ। र अब संयोग संयुक्त तादात्म्या इत्यादि सन्निकर्षहरूको चैतन्याभिव्यञ्जकवृत्तिको उत्पत्तिमा बिनियोग हुन्छ(कामथालिन्छ।) 

- साच वृत्तिस्चतुर्विधासंशयो०।।२८।।

सन्निकर्षजन्य वृत्तिहरू चार प्रकारको हुन्छन।संशय,निश्चय,गर्व र स्मरण ।अन्तस्करण एउटै भएपनि वृत्तिको भेदको कारण अर्थात कार्यभेदको कारण मन,बुध्दि,अहंकार र चित्त गरेर चार प्रकारका भेद मानिन्छ्न । मनको विषय संशय,बुध्दिको विषय निश्चय,अहंकारको विषय गर्व र चित्तको विषय स्मरण हुन्छ।

- तच्च प्रत्यक्षम् द्विविधम्०।।२९।।  

प्रत्यक्ष ज्ञान दुई प्रकारको हुन्छ ।एक सविकल्प अर्को निर्विकल्प।विकल्पलाई विषयगर्ने ज्ञान सविकल्पक हुन्छ।जस्तै"म भुंड्कोलाई चिन्छु"भन्दा यो ज्ञान सविकल्पक हुन्छ।तर संसर्ग(सन्निकर्ष)लाई विषय नगर्ने ज्ञान निर्विकल्पक हुन्छ।जस्तै-त्यो यो वालेन हो,ब्रह्म तिमी हौ इत्यादि।

- ननु शब्दमिदं ज्ञान न०।।३०।।

शब्दजन्य ज्ञान कसरी प्रत्यक्ष हुन्छ?भन्ने दुई उदाहरण यो मन्त्रमा छन।एक यो वालेन त्यही हो,अर्को तत्वमसि। 

- ननु वाक्यजन्यज्ञानस्य०।।३१।।

वाक्य जन्य ज्ञान पदार्थ संसर्ग(सन्निकर्ष)विषयत्व भएकोले यसलाई निर्विकल्प कसरी भन्ने? यो प्रश्नको उत्तर-वक्ताको तात्पर्य जुन विषय हो त्यही नै वाक्यजन्यज्ञानको विषय हुन्छ।संसर्ग तन्त्र(सन्निकर्ष कारण)निमित्त होइन।

- प्रकृते च सदेव सौम्येदमाग्र आसित०।।३२।। यो मन्त्रमा तत्वमसिलाई लिएर वाक्यतात्पर्यको विषय नबनेको पदार्थसंसर्गलाई कसरी बुझाउन सक्छ?भनिएको छ।

- इदमेव तत्वमस्यादी०।।३३।।

संसर्गको विषय नहुने भएको यथार्थ ज्ञानको जनक्त्व अर्थात उत्पादकत्व नै तत्वमस्यादि वाक्यको अखण्डार्थ हो ।यसमा चित्सुखाचार्यको विचार छ।

- तच्च प्रत्यक्षमं पुनर्द्विविधं०।।३४।।

त्यो सविकल्प निर्विकल्प फेरि दुई प्रकारको छ।एक जिवसाक्षी प्रत्यक्ष र अर्को ईश्वर साक्षी प्रत्यक्ष ।यसमा अन्तस्करणावच्छिन्न चैतन्य जीव हो र अन्तस्करणोपहित चैतन्य जिवसाक्षी हो।जीव र जिवसाक्षी फरकहुन विशेषण र उपाधिको हात छ।यसपछी उदाहरण छन् ।

- प्रकृते चान्त:करणस्य०।।३५।।

प्रस्तुत मन्त्रमा अन्तस्करण जड हुनाले यसमा विषयावभासकत्व हुन सक्दैन।यसैकारण अन्तस्करणमा विषयभाषक चैतन्यको उपाधित्व छ।यो जिवसाक्षी चैतन्य प्रत्येक आत्मामा भिन्नाभिन्नै हुन्छ।यसो भएनभने एउटालाई थाहा भएको कुरा अर्कोलाईपनि थाहा हुन्छ भनिएको छ ।

- ईश्वर साक्षी तु मायोपहितं०।।३६।।

जीवसाक्षीभन्दा उल्टो मायोपहित चैतन्य नै ईश्वर साक्षीचैतन्य हो ।त्यो एकछ।त्यो चैतन्यको उपाधिभुत मायापनि एक छिन तर तीनको आफ्नोशक्तिले धेरै हुन सक्छिन,श्रुतिमा यसो भनिएको छ।

- मायातु प्रकृति विध्द्यान्मापिनं०।।३७।।

प्रकृति माया हुन र मायाभन्दा विलक्षण(चिद्रुप)मायावी(माया शक्तिवान)महेश्वर (आत्मा)हुन भनेर जान्नुपर्छ।जीव मायाको अधिनमा बस्छ,ईश्वर बस्दैन।मायोपहित चैतन्य ईश्वरसाक्षी हो,यो अनादि छ।

- नन्वीश्वर साक्षीणोsनादित्वे०।।३८।।

ईश्वर साक्षी चैतन्य यदि अनादी हुन्थ्यो भने उनले "म धेरै होउं"आदि वाक्यहरूमा सृष्टि भन्दा पूर्व उनको आगन्तुक इक्षण देखिएको छ ।अत:ईश्वर साक्षी चैतन्य अनादी कसरी हुन सक्छ?नैयायिकको यो शंकाको उत्तर वेदान्ती यसरी दिन्छन-जसरी विषयेन्दृय सन्निकर्षादिको कारणले जीवका उपाधिरूप अन्तस्करणका अनेकौं विषयकार वृत्तिहरू मानिन्छन त्यसरिनै जसलाई उत्पन्न गर्नु छ ती प्राणिहरूको कार्यवशात परमेश्वरोपाधिभुत मायाका वृत्तिविशेष(स्र्ष्टव्य)आदि आकारका वृत्तिविषेश उत्पन्न हुन्छन।ती वृत्तिहरूमा सादित्व(उत्पन्नहुनेपन)हुने हुंदा ती वृत्तिहरूमा प्रतिविम्वित हुने चैतन्यलाईपनी सादी अर्थात उत्पन्न भयेको मानिन्छ।यसप्रकारसाक्षीको द्विविधताका कारण प्रत्यक्ष ज्ञानमापनी द्विविधता देखिन्छ।अत:प्रत्यक्ष ज्ञेयगत र ज्ञप्तिगतभेदबाट दुई प्रकारको देखिन्छ ।

- तत्र ज्ञप्तिगत प्रतक्षत्वस्य०।।३९।।

ज्ञप्तिगत प्रत्यक्षत्वको सामान्य लक्षण चित्व(स्वप्रकाश)हो।यो मन्त्रमा चित्वरूप प्रत्यक्षत्व लक्षणको अनुमित्यादि ज्ञानमा अतिव्याप्ती हुन्छ भन्नू उचित होइन भनिएको छ।मिथ्याज्ञान र सम्यकज्ञान दुवै ज्ञानकोलागि साधारण यस्तो प्रत्यक्षत्व सामान्यको निर्वचनबाट भ्रमज्ञानपनि लक्षणकोटिमा आउँछ।

- यदातु प्रत्यक्ष प्रमाया०।।४०।।

यदि यथार्थ ज्ञानको नै लक्षण भन्नु पर्ने हो भने पूर्वोक्त लक्षणगत विषयमा अवाधित्व जोड्नु पर्छ।यसमा लक्षण व्याप्ति अव्याप्तिलाई लिएर गहिरो चर्चाछ।

- ननु विसंवादी प्रवृत्या०।।४१।।यो मन्त्रमा चांदी र सिपिलाई लिएर अन्न्यथावादीको शंका छ-सिपिमा देखिएको चांदी विसंवादी हुन्छ भनिएको छ।यो वादविवाद लामो छ।

- ननुरजोत्पाद्कानां०।।४२।।

यसमा भ्रान्त चांदीलाई उत्पादन गर्ने सिपिहोकी बजारमा रहेको चांदिका समान हुन ?भन्ने बहस छ।

- तथा हि काच०।।४३।।यो मन्त्रमा आखांमा ज्योती दोष(जन्डिसादी कारणबाट )भएको मान्छेले सिपि र चांदिलाई कसरी छुट्ट्यांउछ भनेर देखाइएको छ।सूत्र-प्रमेयचैतन्य+प्रमाणचैतन्य+

अन्तस्करणावच्छिन्न चैतन्य एक हुनु।

- परिणामोनामनुपादन०।।४४।।यो मन्त्रमा परिणाम र विवर्तको अर्थ लगाइएको छ।

- ननु चैतन्य निष्ठ्स्य०।।४५।।यसमा "यो चांदि" भनेरअगाडि देखिने चैतन्यनिष्ठ चांदि सिपिमा तादात्म्य(एकाकार )कसरी हुन सक्छ? भन्ने प्रश्न र त्यसको उत्तर छ।

- तस्य च विषयचैतन्यस्य०।।४६।।यस

मन्त्रमा कसरी विषय साक्षीमा अध्यस्त हुन्छ?केवल साक्षीवेध्य र अनन्यवेध्य के हो? र के लाई साक्षीचैतन्यदेखि बाहेकको वृत्यादि चैतन्यबाट जान्न सकिंदैन ? भन्ने बयानछ।

- ननु साक्षीण्यध्य्स्तत्वेsहं०।।४७।। यश मन्त्रमा भ्रान्त चांदि यदि साक्षीमा अध्यस्त भएको हो भने"म चांदी" यसरी जानिएला।"यो चांदि" यस्तो नहोला।जसरी "म सुखि" ठिक हो भने "यो सुख"यस्तो अनुभव  हुंदैन भनेर सम्झाइएको छ।यो वादविवाद लामो छ।

- तथा च इदमाकारनुभावाहित०।।४८।।

यो मन्त्रमा शरीर  र इन्द्रियहरूको दुई प्रकारबाट कसरी अनुभव हुन्छ?भन्ने बिषय सम्झाइएको छ।

- प्रकृतेच प्रातिभाषिक०।।४९।।यसमा सिपि चांदिको उदाहरणको प्रातिभाषिक चांदि अविध्याको कामहो भन्दै सो प्रातिभाषिकता कसरी जन्मिन्छ? र अनुभवमा "म चांदि" नभएर "यो चांदी"हुन्छ भनिएको छ।

- नन्वेवमपी मिथ्या जगतस्य०।।५०।।

अगाडि जेसुकै भनिएतापनि मिथ्या चांदिको सक्षात साक्षी सम्बन्धत्वेन भान हुन सक्छ भने चांदि विषयक अज्ञान भासरूप अविध्या वृत्तिलाई किन स्विकार गर्ने?एकदेशिको शंकामा अद्वैती जवाफ दिन्छन-चांदिको अपरोक्षत्व हुनलाई वृत्तिलाई स्वीकार गर्न पर्छ ।किनभने स्वविषय वृत्तिमा उपहित चैतन्यभन्दा चांदिकोसत्ता फरक नहुनुलाई नै विषय परोक्ष भनिन्छ ।

- नन्विदं वृत्ते रजतकारवृत्तेश्च०।।५१।।

इदंवृत्ती र रजताकारवृत्ती यसमा प्रत्येक वृत्ती अर्थात सिपि र चांदी फरक फरक विषय रहन्छ ।प्रभाकरको मत ठिक होइन ।साक्षी ज्ञानमा सत्य र असत्य दुईको विषय सम्भवहुन्छ।साम्प्रदायिकहरूले साक्षीज्ञानलाई प्रमाण्य मान्दैनन् ।यस विषयमा ।।५२,।।५३।।मापनिचर्चाछ।

- ननु स्वप्नस्थले०।।५४।।

यस मन्त्रमा सपनामा पूर्वानुभुत रथहरूको केवल स्मरणबाट नै काम चल्ने हुंदा सपनामा रथ आदिको कल्पना गर्नु ठिक होइन । सपनामा देखिने रथादिपनि चांदिसिपिजस्तै प्रातिभाषिक भ्रान्तहुन।जवसम्म भ्रान्तिरहन्छ।तवसम्म प्रतिभाषिक पदार्थहरू विध्यामानरहन्छ।स्वप्नकालमा सवै वाहिरी इन्द्रियहरूको लय हुन्छ।यसवारे मन्त्र।।५५,५६।।मापनि व्याख्या गरिएको छ।

- एवं च शुक्तिरूप्यस्य०।।५७।।

यस मन्त्रमा कार्यको नास दुई प्रकारले हुने कुरा थाह पाइन्छ ।नृवृत्ति र वाध।तुलावृत्ती र मुलावृत्तिकोपनि ज्ञान हुन्छ।

- ननु सुक्तौ रजतस्य०।।५८।।

प्रतिभासको वेलामा सिपिमा

भासितहुने भएको चांदिको प्रतिभासिक सत्वलाई यदि स्वीकार गर्ने हो भने "यो चांदि होइन "यस्तो त्रैकालिक निषेध ज्ञान हुंदैन।यहाँ निषेध,प्रतियोगिता ,अभाव,व्यधिकरण आदि शब्द प्रयोगछ्न।

- ननु प्रतिभासिके रजते०।।५९।। यश मन्त्रमा प्रातिभासिक रजतमा पर्मार्थिकत्वको ज्ञान भयोकि भएन?बारे बहस छ।स्फटिकको उदाहरण छ।

- नन्वे वं यत्र जपाकुसुमं०।।६०।।

यहाँ इन्द्रिय सन्निकृस्ट जपाकुसुमपनि जब अर्को द्रव्य अर्थात हात आदिबाट छेकिन्छ तब त्यो जपाकुसुम इन्द्रियबाट अस्न्निकृष्ट हुन जान्छ तवपनि जपाकुसुमको रातोपन स्फटिकमा झल्किन्छ ।यो इष्ट छ भनिन्छ ।

- उक्त प्रत्यक्षं प्रकारान्तरेण०।।६१।।

यहाँ सम्म भनिएको प्रत्यक्ष प्रकारान्तरले दुई थरिको छ ।

एक इन्द्रियजन्य अर्को इन्द्रिय अजन्य।ती दुई मध्येसुखादी प्रत्यक्ष इन्द्रिय अजन्य हो।किनभने हामीहरूले मनलाई इन्द्रियत्वबाट हटाइसकेकाछौं।

घ्राण,रसना,चक्षु,श्रोत्र र त्वक यी पांच ज्ञानेन्दृय हुन।यी इन्दृयहरू आफ्नाआफ्ना विषयसंग संयुक्त भएमामात्र प्रत्यक्ष ज्ञानलाई उत्पन्न गर्न सक्छन।तर ती मध्यमा घ्राण,रसना र त्वक समेतका यी तीनथरी इन्द्रियहरू आआफ्ना ठाउंमा रहेर नै गन्ध,रस र स्पर्श्विषयलाई क्रमश:ग्रहण गर्द्छन।तर चक्षु र श्रोत्र यी दुई इन्दृयहरू स्वयं नै जहाँ विषय छ त्यहीँ गएर आफ्ना आफ्ना विषयहरूको ग्रहण गर्दछ्न।चक्षु जस्तै श्रोत्रपनी परिच्छिन्न भएको हुंदा श्रोत्रपनी कर्नाल,मादल आदिका स्थानमा जान सम्भव छ।यसै कारण "कर्णालको आवाज मैले सुने"

  यस्तो अनुभव हुन्छ।नैयायिक वीचीतरङग न्यायले कर्णशंष्कुलीका प्रदेशमा अनन्त शब्दहरूको उत्पत्ती हुन्छ भनेर भन्दछन।

तर यस्तो मान्नुमा गौरव छ र मैले कर्नालको शब्द सुनें भन्ने प्रत्यक्ष ज्ञानमा भ्रमको कल्पना गर्नुपनी अर्को गौरव हो।यसरी प्रत्यक्ष परिच्छेद समाप्त भयो।


अनुसूचीहरू

१.यस ग्रन्थमा प्रयुक्त केही कठिन शब्द र तीनका अर्थहरू।

अजा(स्त्रीली.)उत्पन्न नहुने,माया।

अध्यास(पुलि.)झुटो ज्ञान व कल्पना,अविध्या र बिध्याको अधियां।गांठो।

अनधिगत(विशे.)पहिले थाहा नभएको।

अनन्यवेध्य(पुलि.)एकरूप,अरूसंग सम्बन्ध नराख्ने।

अन्तस्करण(नपुलि.)शरीरभित्रको त्यस्तो इन्द्रिय जसको संकल्प।विकल्प,निश्चय,स्मृति,अहं वृत्तिहुन्छन।

अन्तस्करणवृत्ति(नपुलि.)मन,बुध्दि,अहंकार र चित्तको धर्म।

अनादि(विशे.)आदिनभएको,उत्पत्ती नभेको।

अनिर्वचनिय(विशे.)वर्णन गर्न नसक्ने ,संसार,माया।

अनुगत(विशे.)अनुसार,पछिलागेको।

अनुपपत्ति(स्त्रीलि.)असंगति,असमर्थपन।

अन्यथाख्याति(स्त्रीलि.)

अभ्युपगम(पुलि.)नजिकजानु,मञ्जुरगर्नु,नियम,प्रतिज्ञा।

अपरोक्ष(विशे.)प्रत्यक्ष ,आँखा सामुन्नेको।

अवच्छिन्न(विशे.)छुट्ट्याइएको,समालिएको,छेकिएको।

अवाधित(विशे.)वाधा नभएको,नछेकिने,झुक्किएर सच्चिने,निर्वाध।

अविध्या(स्त्रीलि.)अज्ञान,माया,प्रकृति।

अव्याप्ती(स्त्रीलि.)फैलनपर्ने ठांउमा नफैलनु,नढाक्नु।

अहमाकार(पुलि.)म हुं भन्ने भाव,शेखी।

आगन्तुक(विशे.)अकस्मात आएको,नबोलांउदापनी आफ्नो इच्छाले आएको।

आत्मनिष्ठ(आत्मज्ञानगर्ने काममा लागेको।

आदिमत(विशे.)उत्पत्तिमान,

जन्मिनि।

करण(पुलि.)इन्द्रिय ,कृयाको साधन ।

कांच(पुलि.)शिसा,पारदर्शी वस्तु।

कामल(पुलि.)कमलपित्त रोग।

गर्व

चाकचिक्य(विशे.)झिलमिल

चित्व

चिद्रुप

चिदाभास(पुलि.)चैतन्य स्वरूप,परमात्माको प्रतिबिम्व अन्तस्करणमा परेपछी मानिसले गर्ने भास।

चैतन्य(नपुलि.)चेतना,होस,

ज्ञान,परमात्मा।

इत्याकारक(विशे.)जानयोग्य कारक।

इदमाकार(विशे.)यो आकारको।

इक्षण(पुलि.)इच्छागर्नु।

ईश्वरसाक्षी(पुलि.)परमात्मा,

चैतन्य।

उच्छेद(पुलि.)उखाड्पाखड,नाश

उपकृत(विशे.)कृतज्ञ,उपकार

गरिएको।

उपपन्न(विशे.)उक्ति संगत,ठिक।

उपहित(विशे.)संगै,युक्त,

उपाधि जोडिएको।

उपाधि(पुलि.)पदवि,विशेशता।

करण(पुलि.)कृयाको साधन,इन्द्रिय ।

कांच(पुलि.)पारदर्शी अवस्तु,शिसा।

कामल(पुलि.)कमलपित्त रोग।

केवलसाक्षी(विशे.)असाधारण साक्षी,एकसाक्षी।

चाकचिक्याकार(विशे.)झिलिमिलि आकार।

चित्व(नपुलि.)स्वप्रकासयुक्त।

चिदरूप(नपुलि.)ज्ञानस्वरूप,

परब्रह्म।

चिदाभास(पुलि.)चैतन्य स्वरूप परमात्माको प्रतिविम्व जुन मानिसको अन्तस्करणमा पर्छ।

जातित्व(नपुलि.)जातिको धर्म ,जातिपन।

जीवसाक्षी(पुलि.)जीवात्मासाक्षी,जीवन,प्राण।

तडागोदक(पुलि.)तालको पानी।

तादात्म्य(नपुलि.)

तुला विद्या(स्त्रीलि.)नापतौलद्वारा परिक्षित र वितरित विद्या ।

द्रव्य(पुलि.)नौथरी पदार्थ।पृथ्वी,जल,तेज,वायु,आकास,मन,काल,दिशा।

धारावाहिक(विशे.)धाराझैं बगेको।

धि(पुलि.)धारण गर्ने मानिस,युक्त।

धृ(स्त्रीलि.)धारणगर्ने कृया,प्राज्ञ।

नित्य(विशे.)कहिल्यै ननाशिने।

निरवयव(विशे.)अङग नभएको।

निरसन(नपुलि.)संशोधन,फ्यांक्नु,नाश्नु।

निर्विकल्प(विशे.)पक्का निधो गरिएको।

निश्चय(पुलि.)निधो,द्विविधा वा भ्रमनरहनु।

निषेधज्ञान(पुलि.)हुन्नभनि रोक्नु,अस्वीकार।

परिकर(विशे.)पछिलागेर हिंड्ने।

परिहार(नपुलि.)दोष अनिष्टाधिलाई हरणगरिदिने।छोडाउने।

प्रकृत(विशे.)वास्तविक विषय।

प्रतिकार(पुलि.)वदला,प्रतिशोध

प्रतीती(विशे.)जानिएको,

प्रसिध्द,सावितगरिएको।

प्रतिभाषित(पुलि.)एउटा वस्तुमा अर्को वस्तु भान हुनु।स्वप्नमा देखिने चित्र।

प्रत्यय(नपुलि.)चित्त,ज्ञान,बुध्दी,अनुभवबोध।पछिआउने।

प्रत्यक्ष(विशे.)आंखाले नै देखेको,स्पष्ट,छथरी प्रमाण मध्य एक।

प्रपञ्च(पुलि.)जगत र जगतको जाल विस्तार,व्यख्या।

प्रमा(पुलि.)यथार्थ ज्ञान,सम्यक ज्ञान।

प्रमातृचैतन्य(पुलि.)

प्रमाता(पुलि.)प्रमाणहरूद्वारा प्रमेयको ज्ञान गर्ने व्यक्ति,द्रष्टा,साक्षी।

प्रमात्व(पुलि.)प्रमाको धर्म वा ज्ञान।

फलवलकल्प्य(विशे.)शब्दको अर्थ बलमा,जे अर्थहो त्यसैलाई मान्नु।

वाध(विशे.)वाधा हाल्नु,वाधक,वाधा।

विवक्षित(विशे.)बोल्न इच्छागरेको,प्यारो।

विषयगत(विशे.)कुनै विषयमा सम्बन्ध राख्ने।

व्यवर्तक(विशे.)छुट्ट्याउने,चारैतिर घेर्ने,विस्तार।

वृत्ती(स्त्रीलि.)वेदान्तमा ३ वृत्तिहुन्छन,जाग्रत,स्वप्न,

सुषुप्ति।

विनियोग(पुलि.)एकप्रकारको संकल्प,पानी छर्कनु।

विलक्षण(विशे.)लक्षण नभएको,फरक,अनौठो।

विवर्त(नपुलि.)प्रतिविम्ब,फर्केर आउनु,भ्रम।

विसंवादि(विशे.)विरोधी,कपटी।

भेद(पुलि.)फरक,किसिम।

मनोधर्म(स्त्रीलि.)मनको धर्म,संकल्प,विकल्प ।

मायावी(पुलि.)परमात्मा,जादुगर।

मिथ्या(अव्य.)झुटाज्ञान,असत्य,भ्रम।

मुलाविद्या(स्त्रीलि.)विजविद्या,विजज्ञान।

लाघव(नपुलि.)हलुकापन,कङ्गालीपन,थोरैपन।

शुक्ति(स्त्रीलि.)सिपि।

स्फुरण(नपुलि)फुर्नु,प्रकाश ।

स्मृतिसाधारण(विशे.)सामान्य स्मृती।

स्वाधिष्ठान(पुलि.)आत्मा,

आत्मामा नै सवै अवस्तु अध्यस्त हुन्छ्न।

स्मरण(नपुलि.)सम्झना,याद।

सन्निकर्ष(पुलि.)इन्द्रियको विषयसंग हुने सम्बन्ध।सामीप्य।

समवाय(पुलि.)अवयवी अवयवको अटुट सम्बन्ध।समुह।

सविकल्प(विशे.)ऐच्छिक ,सन्देह भएको,निर्णयगर्न नसक्ने।

संसर्ग(पुलि.)मेलमिलाप,छातछुत,साथसाथै रहंदाहुने सम्बन्ध।

संशय(पुलि.)धरमर,द्विविधा,सम्भावना।

साक्षिवेधत्व(स्त्रीलि.)साक्षीद्वारा जनिने।

त्र

तृपुटी(पुलि.)ज्ञान,ज्ञाता,ज्ञेयको साम्य अवस्था।

ज्ञ

ज्ञानगतप्रत्यक्षत्व(विशे.)जान्नेवालामा प्रत्यक्ष प्रकटहुनु।

ज्ञप्तिगत(स्त्रीलि.)जनाउने

काम,सम्झाउने कृया।

ज्ञेयगत(विशे.)जान्न सकिने।

ज्ञानावछेदक(नपुली.)ज्ञान हुनलाई बाधादिने,ज्ञानछेक्ने।

       ।।समाप्त।।

२.यस ग्रन्थमा प्रयुक्त केही पर्यार्यवाचि शब्दहरू

अपरोक्ष=प्रत्यक्ष ,साक्षात।

निषेध=निवृत्ति

प्रमाण=ज्ञान,वृत्ति।

प्रमाता=ज्ञाता,अन्तस्करण।

प्रमेय=ज्ञेय,विषय।

ब्रह्म=चैतन्य,आत्मा।

विवर्त=प्रतिविम्व।

इदमवच्छिन्नचैतन्य=विषयावच्छिन्नचैतन्य,प्रमेयचैतन्य।

वृत्त्यवच्छिन्नचैतन्य=प्रमाणचैतन्य।

प्रमातृचैतन्य=अन्त:करणावच्छिन्नचैतन्य।

सन्दर्भग्रन्थहरू।

१.भट्टराई,शरत्कुमार(२०६८)

वेदान्तपरिभाषासार,रत्न पुस्तक भण्डार,काठमाडौं ,नेपाल।

२.भट्टराय,चुडानाथ(२०३१)

अद्वैत-चूडामणि , नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ,कमलादी,काठमाडौ ।

३.धर्मराजाध्वरिन्द्र(व्याख्याताडा.गजानन,सं.श्रीरामशास्त्री)

(1983)वेदान्तपरिभाषा,चौखम्बा विद्याभवन ,वाराणसी।

४.सरस्वती, स्वामी

ज्ञानानन्द(२०७४)सर्ववेदान्त

सिध्दान्तसारसंग्रह:,

हरिहर -सन्न्यास-आश्रम,

देवघाटधाम,तनहूं,नेपाल।

५.रिमाल,वासु(२०६४)वेदान्त विश्वकोश २,श्रीमतीशारदा

रिमाल,विश्वकोश प्रकाशन

जावलाखेल,ललितपुर )।

६.के.एन.स्वामी,संस्कृत-शब्दकोशः’ (App) काठमाडौ ,नेपाल।

७. https://archive.org/stream/in.ernet.dli.2015.481188/2015.481188.Praman-Aur_djvu.txt

    तत्सत।


No comments